बिर्तामोड– निक्षेपकर्ताले जम्मा गरेको रकम गायब भएको सम्बन्धमा प्रभु बैंकले कानूनबमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको जनाएको छ ।
घटनाका विषयमा थप छानबिन भइरहेको र कानूनबमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकले स्पष्ट पारेको हो ।
जनस्तरबाट चर्को दबाब परेपछि घटनाका विषयमा मुख खोलेको बैंकले आफ्नै आन्तरिक व्यवस्थापन वा प्रहरी कुन निकायमार्फत अनुसन्धान भइरहेको छ भन्ने बारेमा भने केही खुलाएको छैन ।
निक्षेपकर्ता मञ्जुकुमारी नेपालले निक्षेपको अवधि पूरा भएको जनाउँदै बैंक व्यवस्थापनसँग आफ्नाे रकम फिर्ता माग्दा सम्बन्धित खातामा रकम नरहेको खुलेको थियो ।
नेपालले छ महिनाअघि आफूले प्रभु बैंकमा १ करोड १० लाख ४३ हजार मुद्दति खातामा जम्मा गरेको र सोही अनुसार बैंकले रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट दिएको जनाउँदै आएकी छन् ।
निक्षेपकर्ता नेपालका श्रीमान पत्रकार टीकाराम नेतीले आफ्नो रकम गायब भएको घटनाले प्रभु बैंकको बैंकिङ कारोबारमाथिको विश्वसनीयतामा गम्भीर प्रश्न उठेको जनाउँदै पत्रकार सम्मेलनमार्फत न्यायका लागि सार्वजनिक रुपमा अपिल गरेका थिए ।
पत्रकार सम्मेलनपछि बिर्तामोडस्थित प्रभु बैंकको शाखामा ग्राहकले जम्मा गरेको निक्षेप सम्बन्धित खातामा नभएको सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै बैंकले घटनाका विषयमा मुख खोलेको हो ।

बैंकका प्रादेशिक प्रमुख बद्रीकुमार कटुवालले प्रारम्भिक आन्तरिक छानबिनका आधारमा निक्षेपकर्तासँग भएको मुद्दति रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट अनाधिकृत एवम् नक्कली भएको बताएका छन् ।
कोशी प्रदेश प्रमुख कटुवालले आइतबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य र वास्तविकता पत्ता लागेपछि दोषी उपर कारबाही हुनेमा आफूहरू विश्वस्त रहेको जनाएका छन् ।
के निक्षेपकर्तासँग भएका कागजात नक्कली हुन सक्छन् ?
निक्षेपकर्ता स्वयंले आफूसँग उपलब्ध रहेका सबै बैंकिङ डकुमेन्ट बैंकमार्फत प्राप्त भएको जनाएका छन् । प्रभु बैंकमा कार्यरत कर्मचारीमार्फत प्राप्त भएका कागजात नक्कली हुन् भनेर पत्याउने विश्वसनीय आधार निक्षेपकर्तासँग छैन ।
यो घटनासँग जोडिएको भनिएका बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला चार दिनदेखि सम्पर्कविहीन छन् । बैंकले रक्षात्मक हुँदै जारी गरेको विज्ञप्तिले आफ्नै कर्मचारी सिटौलाका विषयमा भने मुख खोलेको छैन ।
आफ्नै बैंकका कर्मचारी विवादमा तानिएको घटनालाई बैंकले ढाकछोप गर्न खोजेको अर्थमा लिन सकिन्छ । यसअघि निक्षेपकर्ताका श्रीमान पत्रकार नेतीले घटनाको वस्तुस्थिति अवगत गराउँदै मार्केटिङ म्यानेजर भनिएका सिटौला, बैंकका म्यानेजर गणेशबहादुर बराल लगायतमाथि अनुसन्धान हुनुपर्ने जनाउँदै जिल्ला प्रहरी कार्यालय झापामा ठाडो उजुरी दिएका थिए ।
तर, घटनाका विषयमा प्रहरीले भने अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढाउन सकिरहेको छैन । बेपत्ता भएका बैंक कर्मचारी सिटौलाका सम्बन्धमा समेत प्रहरी अधिकारीले आफूहरुलाई सामान्य सूचना मात्र रहेको जनाइरहेका छन् ।














