बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार आठ सय एकाउन्न रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
पुल १६ मिटर लम्बाई तथा १.६ मिटर चौडाईको छ । वडाअध्यक्ष हरिप्रसाद चौलागाईले पुल बनेपछि सहिद लक्ष्मी प्रावि र दुर्गा माविमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताए ।
पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीयले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै आएका थिए । प्रदेश सांसद कमला थापा मगरको पहलमा पुलको बजेट विनियोजन भएको हो ।
पुल निर्माणको काम सम्पन्न भएकोले चेकजाँच तथा अनुगमन गरी चाँडै हस्तान्तरण गरिने ठेकेदार कम्पनी आस्था निर्माण सेवा सुनसरीका प्रतिनिधि लिफाङ लिम्बुले बताए । पुलबाट १७५ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।