इलाम- इलामको रोङ गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयका विद्यार्थीले दैनिक एक रुपैयाँ बचत गरिरहेका छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको बाल बचत खातामा उनीहरुले बचत गरिरहेका हुन् ।
आठ महिनादेखि सुरु भएको बचत अभियानमा १९ लाख भन्दाबढी रकम जम्मा भएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले बताए । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि प्रति बिद्यार्थी एक रुपैयाँ बचत अभियान सुरु गरेको थियो ।
२०८१ असार मसान्तसम्म प्रति बिद्यार्थी एक रुपैयाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता प्राइम कमर्सियल बैकमा खोलेको छ ।
बाल बचत खातामा गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपैयाँ र बैंकको तर्फबाट प्रति बिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपैयाँ जम्मा भएको छ । बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपैयाँ जम्मा गर्ने गरेको छ ।
बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ । रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने शिक्षा शाखा प्रमुख श्रुति तामाङले बताइन् ।
रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिकाभित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन् ।

















