बिर्तामोड-झापा प्रहरीले बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादती विरुद्धमा नागरिक युवा दस्ताले बिर्तामोडमा विरोध र्याली आयोजना गरेको जनाएको छ ।
प्रहरीले सञ्चार माध्यमलाई पठाएको प्रेस नोटमा बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको उल्लेख गरेको हो । भाषिक रूपमा प्रहरी आफैँले बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादती विरुद्धमा भन्दै सन्देश प्रवाह गरेको छ ।
अर्को कुनै पक्षले ज्यादतीको विरोध गरेको विषयलाई प्रहरी आफैँले निष्कर्ष झैँ प्रस्तुत गर्न खोजेको हो । नागरिक युवा दस्ताले बिहीबार बिर्तामोडका विभिन्न बैंक तथा वित्तीय संस्थामा ढुङ्गा हानेर तोडफोड गरेको विषयमा प्रहरीले प्रेस नोट जारी गरेको थियो ।
प्रहरीको प्रेस नोट अनुसार नागरिक युवा दस्ताले ज्योति विकास बैंक र एभरेस्ट बैंकमा तोडफोड गरेको छ । युवा दस्ताका कार्यकर्ताले ढुङ्गा हानेर ती दुवै बैंकका सीसा फुटाएका छन् ।
घटनापछि चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड ३ का मनकुमार तामाङ, बिर्तामोड ५ का बुलेट भनिने अन्जेस राई, बुद्ध शान्तिका दिपेश राई र बिर्तामोड ४ पवन दुलाल छन् ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।














