झापा-देशभर डेङ्गुको संक्रमण तीव्र हुँदै गएको छ । नियन्त्रण प्रयासमा देखिएको कमजोरीका कारण संक्रमण देशव्यापी रुपमा फैलिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर १९ हजार ५९९ जना संक्रमित भएका छन् । सङ्क्रमणबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
सङ्क्रमणबाट काठमाडौँ सबैभन्दा बढी प्रभावित छ । महाशाखाका अनुसार ७६ जिल्लामा संक्रमण फैलिएको हो । काठमाडौँमा मात्रै ३ हजार १०३ जना प्रभावित छन् ।
संक्राममक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेङ्गुको जोखिम थप बढ्दै गएको र दशैं लगत्तै अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको बताए ।
२०८० को पुस मसान्तसम्म ५२ हजारभन्दा बढीमा डेङ्गु संक्रमण पुष्टि भएको थियो । त्यसबेला २० जनाले ज्यान गुमाएका थिए ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोगका रूपमा डेङ्गुलाई लिने गरिएको छ । लामखुट्टेको टोकाइबाट बच्न सकिए मात्रै यसको सङ्क्रमणबाट जोगिने डाक्टर पुन बताउँछन् ।