१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

राजनीतिप्रतिको वितृष्णा हटाउन लाग्नुपर्छ : काङ्ग्रेस नेता सिटौला



भद्रपुर-नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको वितृष्णा हटाउन नेता कार्यकर्ता लाग्नुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको क्षेत्रस्तरीय प्रशिक्षणलाई बुधबार सम्बोधन गर्दै पूर्व महामन्त्री सिटौलाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रिय सभाका सदस्य समेत रहेका नेता सिटौलाले सबै नीतिहरूको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै यसप्रतिको नकारात्मक धारणा हटाउनुपर्ने बताए । उनले नेपाली कांग्रेस लोकतन्त्रको सम्वाहक भएकाले हरेक परिवर्तनहरूको अग्रमोर्चामा नेतृत्व गर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल, झापा कांग्रेसका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य उमा सिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल महिला संघ झापाकी अध्यक्ष टीका सिटौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रम क्षेत्रीय सभापति उर्मिला गौतमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा महिलाहरूको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहाल, संविधान एवम् कानूनमा महिला अधिकार सम्बन्धी व्यवस्थाका विषयमा शान्ता पाठक र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईंले प्रशिक्षण दिएका छन् ।

महिला संघकी सचिव उर्मिला ढकालले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा महिला सशक्तिकरण र नेतृत्व विकासका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  ७ : ३२ बजे