उदयपुर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक सरकारको राजनीतिक स्थायित्वका विषयमा प्रश्न उठ्ने सम्भावना लगभग समाप्त भएको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिपछि कोशी प्रदेश सरकारको राजनीतिक स्थायित्व र स्थिरताको विषय थप प्रश्न उठाउन जरुरी नभएको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।
शनिबार उदयपुरमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्व प्राप्त नहुँदा जनअपेक्षा अनुसार प्रादेशिक सरकारहरूले काम गर्न नसकेको र त्यसको प्रभाव कोशी प्रदेशमा झन् ठूलो परेको बताए ।
एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कांग्रेससँगको सहकार्यमार्फत पूरा हुने बताउँदै मुख्यमन्त्री कार्कीले सत्ता सहकार्य भए पनि चुनावमा दुई पार्टी आपसमा स्वस्थ प्रतिस्पर्धा गर्न तयार हुने उल्लेख गरे ।


















