ताप्लेजुङ-ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि अभियान सञ्चालन हुने भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने गरी हिमाली संरक्षण मञ्चले अभियान चलाउन लागेको हो ।
रेडपाण्डाको संरक्षण अभियान सञ्चालनका लागि चालु आर्थिक वर्षमा २ करोड रूपैयाँ खर्च गरिने हिमाली संरक्षण मञ्चका संयोजक रमेश राईले बताए । अभियानका क्रममा विभिन्न ४१ वटा कार्यक्रम समेटिएका छन् ।
मञ्चले फुङ्लिङ नगरपालिका लगायतका क्षेत्रमा रेड पाण्डा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रेडपाण्डाको बासस्थान भएका क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने योजना पनि छ ।
संयोजक राईका अनुसार यो वर्ष पाथिभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाश पुल निर्माण गरिनेछ । रेडपाण्डाको बासस्थान व्यवस्थापन बेसलाइन सर्वे र हिमालयन हाब्रे सेन्टरको थप व्यवस्थापन गरिने योजना रहेको राईले बताए ।
२०७० सालमा गरिएको सर्वेक्षण अनुसार ताप्लेजुङमा १३४ वटा रेडपाण्डा रहेका छन् । तिनको संरक्षणका लागि हिमाली संरक्षण मञ्चले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ ।
















