झापा-प्रविधिको बढ्दो पहुँचसँगै स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या थपिँदै जाँदा आयात पनि उल्लेख्य रुपमा बढेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबरको स्मार्टफोन आयात भएको छ ।
एक वर्षको अवधिमा १८ लाख ३९ हजार ३५ वटा सेट नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयातबाट सरकारले ५ अर्ब ३३ करोड ९४ लाख राजस्व उठाएको छ ।
वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा बढ्नुमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।
पेट्रोलियम पदार्थपछि नेपालले फलामजन्य वस्तु अत्याधिक मात्रामा आयात गर्छ । जसका कारण नेपालको अर्बौं रुपैयाँ बाहिरिने गरेको छ ।
फलामपछि सबैभन्दा धेरै नेपालले आयात गर्ने वस्तुमा स्मार्टफोन पर्छ । पछिल्ला वर्षमा नेपालीले एकपछि अर्को गर्दै छानीछानी स्मार्टफोन प्रयोग गर्दै आएका छन् ।
नेपालले गत आर्थिक वर्षमा मात्रै स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा ३१ अर्ब रुपैयाँ खर्च गरेको छ ।


















