१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मादक पदार्थ सेवन गरेर सवारी चलाउने चार हजार भन्दाबढी चालक कारबाहीमा



बिर्तामोड-मादक पदार्थ सेवन गरेर सवारी चलाउने चार हजार भन्दाबढी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । प्रहरीले पछिल्लो तीन वर्ष यता मापसे गरेर सवारी चलाउने चालकमाथि कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुन सोडारीले तीन वर्षको अवधिमा चार हजार ६०७ जना चालकलाई मापसे सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएको बताए ।

ट्राफिक प्रहरीले ती चालकमाथि कारबाही गरेर ४४ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरेको छ । सवारी दुर्घटना बढेपछि मापसे गर्ने चालकमाथि ट्राफिक प्रहरीले थप निगरानी गर्दै आएको छ ।

मापसेसँगै लागू पदार्थ सेवन जाँच अर्थात् लापसे विरुद्ध पनि ट्राफिक प्रहरी कडा रूपमा प्रस्तुत हुँदै आएको छ । एक वर्षयता लापसे जाँच अभियानकै रूपमा सञ्चालन भइरहेको प्रहरी नायब निरीक्षक सोडारी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४५ जनालाई लागू पदार्थ सेवन गरेको अवस्थामा कारबाही गरिएको छ । शङ्का लागेका चालकमाथि प्रहरीले लापसे जाँच गर्दै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल दुर्घटना नियन्त्रण अभियानका लागि ट्राफिक प्रहरीले आफ्नो सक्रियता निरन्तर बढाइरहेको बताउँछन् । प्रहरी निरीक्षक पौडेलले मापसे गरेर सवारी चलाउनेमाथि कडाईपूर्वक कारबाही गरिने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  १० : १२ बजे