२ असार २०८२, सोमबार | Tue Jun 17 2025

एमाले झापाद्वारा मन्त्री दाहाललाई अभिनन्दन : यातायात योजनाबारे स्मरणपत्र बुझाइयो



झापा- नेकपा एमाले झापा जिल्ला कमिटीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहाललाई जिल्ला आएको समय पारेर यातायात योजनाबारे आइतवार स्मरणपत्र बुझाएको छ ।

जिल्ला पार्टी कार्यालयमा मन्त्री दाहाललाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा जिल्लाको बहुआयामिक महत्व दर्शाउँदै स्मरणपत्र बुझाएका हुन् ।

उक्त स्मरण पत्रमा भनिएको छ– पूर्वी नेपालको झापा जिल्लाले भारत, भुटान र बंगलादेशसँग नजिकको भौगोलिक अवस्थितिसहित त्रिदेशीय सम्बन्ध राखेको छ । साबिक मेची अञ्चलका पहाडी जिल्लाहरुको मुख्य ट्रान्जिट प्वाइन्ट झापा हो ।

विमानस्थल, ठूला होटेलहरु, निजी तथा सरकारी स्तरबाट सञ्चालित अस्पतालहरु, प्राविधिक शिक्षालय, ब्यापार तथा पारवहन सेवा, पर्यटन, मनोरञ्जन आदि सेवा लिनका लागि छिमेकी मुलुकका पर्यटकहरु झापा आउने गर्दछन् ।

यहाँको मौलिक बाली सुपारीसहित चिया खेती, दूध उत्पादनमा अग्रणी, अन्न, तरकारी र मासुजन्य उत्पादन, प्राकृतिक रबर खेती र प्रशोधन, लाहा खेती र प्रशोधन यो जिल्लाका कृषि मौलिकता र परिचय हुन् । यी सबै सम्बन्धलाई यातायातले जोड्नुपर्दछ ।

जिल्लामा सडक पूल निर्माणका थुप्रै कामहरु भइरहेका छन् । धेरै योजनाहरु अधुरा छन् । यसै सम्बन्धी केही विषयहरू अध्ययन गरी कार्यान्वयन गरिदिनका लागि माननीय मन्त्रीज्यू समक्ष जिल्ला भ्रमणका अवसरमा सादर अनुरोध गर्दछौं ।

अध्यक्ष प्रेम गिरीले हस्ताक्षर गरी वाचनपछि हस्तान्तरण गरिएको सो स्मरण पत्रमा भनिएको छ-
१. झापामा निर्माण कार्य भइरहेका सडक र पूलहरु रकम अभावमा अलपत्र र अधुरो अवस्थामा छन् । तिनीहरुको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदछौं ।

२. हुलाकी राजमार्ग, एशियन हाइवे, मदन भण्डारी राजमार्ग र रेलमार्ग अन्तर्गतका सडक पूलहरुको काममा देखापरेका सबै असजिलाहरुको हल गरी अबिलम्ब निर्माण कार्य सुचारु गराउनु पर्नेछ ।

३. केचना–कन्चनजंङ्घा अन्तर्देशीय सडक साबिक मेची अञ्चलको लाइफलाइन हो । यसको निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी द्रुतगतिमा निर्माण कार्य हुन आवश्यक देखिन्छ ।

४. इलामको भालुखोपदेखि खुदुनाबारी हुँदै बिर्तामोड तथा दुर्गापुर जोड्ने सडकले मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्गलाई समेत जोडेको छ । यो सडक कृषि–ब्यापार–आवागमनका साथै रणनीतिक महत्वको लिङ्करोड हो ।

यसको डिपीआर भएर बजेट किताबमा समावेश भएको तर बजेट अभावमा धिमा गतिमा काम हुने गरेको पाइएकाले पर्याप्त बजेटको व्यवस्थापनका लागि माननीय मन्त्रीज्यूसमक्ष विशेष आग्रह गर्दछौं ।

५. दमक–चिसापानी सडक तराई र पहाडको विविध सामुदायिक अन्तरघुलनको एउटा आयाम हो । यो काम प्राथमिकताका साथ अघि बढाउन विशेष अनुरोध गर्दछौं ।

६. झापाको प्रत्येक संघीय र प्रदेश निर्वाचन क्षेत्रमा पर्ने गरी निम्नानुसार सडक र पूलको योजना माग गर्दछौं । प्रस्तावित सडक र पूल एलएमबिआइएसमा समावेश भएका मध्येबाट हुनेछन् ।

क्षेत्र नं १ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र नं २ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र न ३ मा दुईवटा सडक र तीनवटा पूल, क्षेत्र नं ४ मा एउटा सडक र दुईवटा पूल र क्षेत्र नं ५ मा एउटा सडक र दुईवटा पूलको अत्यन्त आवश्यकता छ ।

७. बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै यातायात मन्त्रालयको नामको जमिन प्रयोगबिहिन अवस्थामा छ । सरकारले उपयुक्त आवश्यकता अध्ययन गरी कार्यान्वयन गर्नुपर्दछ ।

८. रेलमार्गको विषयमा उपयुक्त निकास अविलम्ब निकाल्न अनुरोध गर्दछौं । वर्षौंदेखि सयौं परिवार रेल परियोजनाका लागि रोक्का गरिएको जमिनको मुआव्जा प्रदान गरेर वा रोक्का फुक्का गरी उहाँहरुलाई न्याय प्रदान गरिनु अत्यन्त आवश्यक देखिन्छ ।

९. झापाको कनकाई वा शिवसताक्षीलाई स्टेसन केन्द्र आधार मानी इलामको विभिन्न भुभागमा जोड्ने विद्युतीय आकाश मार्गको सम्भाब्यता अध्ययन गर्न सुझाव प्रस्तुत गर्दछौं । यस्तो कार्यमा निजीक्षेत्र वा पीपी मोड्युलमा सञ्चालन गर्न पनि सकिन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका नेता कार्यकर्ताको उपस्थितिमा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव तुलसी कार्कीले गरेका थिए ।

सो कार्यक्रममा मन्त्री बनेपछि पहिलोपटक झापा आएका दाहाललाई जिल्ला पार्टीको तर्फबाट दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो । अभिनन्दनपत्रको वाचन उपाध्यक्ष शिव ढुंगेलले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले गरेका थिए भने बिर्तामोडका नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अधुरा रहेका बाटोको निर्माणमा मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार ००:००  १ : १८ बजे