११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग




मेचीनगर-समाजसेवी तथा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सरपीडित एक महिलालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्यसमेत रहेका भट्टराईले पत्नी सुमित्रासहित आइतबार मेचीनगर-५ पुगेर २७ वर्षीया विष्णुमाया राईलाई नगद २५ हजार रुपैयाँसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगस्वरूप चामल, दाल, खाने तेललगायत सामग्री प्रदान गरिएको जनाइएको छ । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्षसमेत रहेका भट्टराईले औपचारिक उत्सवभन्दा फरक ढंगले जन्मदिन मनाउँदै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताए ।

उनले लामो समयदेखि आफ्नो तथा परिवारका सदस्यहरूको जन्मदिन सामाजिक कार्यमार्फत मनाउँदै आएको उल्लेख गरे । टोकला चिया बगानमा दैनिक मजदुरी गर्दै आएकी विष्णुमायामा क्यान्सर संक्रमण पुष्टि भएपछि केही समयअघि दाहिने खुट्टा काट्नु परेको थियो ।

चिकित्सकले क्यान्सर शरीरभर फैलिन नदिन तत्काल ‘किमोथेरापी’ सुरु गर्नुपर्ने बताए पनि आर्थिक अभावका कारण उनी घरमै थलिएकी छन् । अग्रज पत्रकार मोहनकाजी न्यौपानेमार्फत विष्णुमायाको अवस्थाबारे जानकारी पाएपछि सहयोग गरिएको भट्टराईले बताए । उनले अन्य संघसंस्था र व्यक्तिलाई समेत सहयोगका लागि आग्रह गरेका छन् ।

विष्णुमायाको परिवारमा पति अनिस राई, प्यारालाइसिसबाट पीडित ४८ वर्षीया सासू पवित्रा राई र पाँच वर्षीय छोरा सुगम छन् । परिवार सरकारी ऐलानी १३ धुर जग्गामा बनेको सानो फुसको घरमा बस्दै आएको छ ।

पति अनिसका अनुसार विष्णुमायाको उपचारमा हालसम्म साथीभाइ, छिमेकी र दाताबाट संकलित करिब २ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ ।

विष्णुमायाको दयनीय अवस्था देखेपछि अग्रज पत्रकार मोहनकाजी न्यौपाने र मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमियाले विभिन्न संघसंस्था तथा सरोकारवालासँग समन्वय गरिरहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार ००:००  ५ : ११ बजे