झापा-सरकारले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेको छ । झापाको शिवसताक्षी नगरपालिका-२ स्थायी घर भएका राईलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सचिव नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए । यसअघि प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले मङ्सिर ९ गते राजीनामा दिएपछि उक्त पद खाली थियो ।
खाली रहेको उक्त पदमा राईलाई नियुक्त गरिएको हो । सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अङ्ग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका राई विभिन्न सामाजिक अभियानमा समेत संलग्न छन् ।