बिर्तामोड-नेपाली र मेचे भाषामा निर्माण भएको चलचित्र विक्रम देवाको पोस्टर बिहीबार झापाको बिर्तामोडमा सार्वजनिक गरिएको छ । चलचित्र व्यवस्थापनले पत्रकार सम्मेलन गरी पोष्टर सार्वजनिक गरेको हो ।
लोपोन्मुख मेचे जातिको धर्म संस्कृति र परम्परालाई चलचित्र मार्फत देखाउन खोजिएको निर्माता प्रताप मेचेले बताए । उनका अनुसार चलचित्र विक्रम देवामा ३० प्रतिशत मेचे भाषा प्रस्तुत गरिएको छ ।
अर्का निर्माता अर्जुन मेचे नेपाली जातीय परम्परा र संस्कृतिको सेरोफेरोमा चलचित्र रहेको बताउँछन् । कुमार केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर लगायतले अभिनय गरेका छन् ।
१ करोड २० लाख रुपैयाँको लागतमा चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ । झापा र इलामका विभिन्न रमणीय स्थलमा चलचित्र छायांकन गरिएको छ ।
निर्माता अर्जुन मेचेले असोज १४ गते बिर्तामोडमा प्रिमियर सो आयोजना गरिएको बताए ।














