धरान-यातायात व्यवसायी संस्थाको अग्रसरतामा धरान प्रवेशद्वारमा सिसी क्यामेरा जडान गरिएको छ । धरान प्रवेशद्वारको विश्वकर्मा मन्दिरअघि जङ्गल क्षेत्रको सडकमा सिसी क्यामेरा जडान गरिएको हो ।
पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी सङ्घले संयुक्त रूपमा दुईवटा सिसी क्यामेरा जडानका लागि सहयोग गरेका हुन् । मन्दिरदेखि दक्षिण र उत्तरतर्फ सिसी क्यामेराले निगरानी गर्नेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा कन्ट्रोल रूम रहने गरी सिसी क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी सङ्घका अध्यक्ष सरोज श्रेष्ठले बताए ।
सिसी क्यामेरा जडान भएपछि सवारी दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणका लागि थप सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाले बताए ।