झापा- विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले किटनाशक विषादीले मान्छेले खाने सागसब्जी तरकारीलाई पनि असर पार्ने भएकाले विषादी प्रयोग गरेको कति दिन पछिमात्र उपभोग गर्न मिल्छ भन्ने कुरालाई विषादी ब्यवसायी र उत्पादकले सन्देश प्रवाह गर्नुपर्ने बताए ।
विषादीका कारण मानव शरीरमा प्रतिकूल असर पर्ने गरेको दृष्टान्त सुनाउँदै नगर प्रमुख पोखरेलले दुई वर्षको कोभिड १९ महामारीमा ४७ जनाको मृत्यु खेपेको कनकाई नगरले अहिले विभिन्न नसर्ने रोगहरुबाट वर्सेनी १०० हाराहारीको मृत्यु हुने गरेको तथ्याङ्क पनि सुनाएका थिए ।
अधिवेशनमा कोशी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख सहसचिव पशुपति पोखरेलले आगामी हप्ताभित्रै कोशी प्रदेशबाटै विषादी व्यवसायीको दर्ता र नविकरणका लागि खुकुलो ऐन आउन लागेको जानकारी गराए ।
नेपाल विउ जिवन व्यवसायी संघ कोशी प्रदेशका महासचिव बसन्त न्यौपानेले सञ्चालन गरेको सो अधिवेशन समारोहमा विषादी ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष छोटेलाल प्रसादले विषादी आयातमा १३ प्रतिशत भ्याट थोपरेर सरकारले किसानमाथि झन् ठूलो बोझ बोकाएको जिकिर गरे ।
समारोहमा बाली संरक्षण प्रयोगशाला झुम्काका कार्यालय प्रमुख सरस्वती श्रेष्ठले विषादी व्यवसायीले पालना गर्नुपर्ने नियमहरु, ओसार पसार तथा प्याकेजिङ पुनः प्याकेजिङ सम्बन्धी ऐनमा उल्लेखित ब्यवस्थाहरु बारे जानकारी दिएकी थिइन् ।
आयोजक तदर्थ समितिका सचिव राजेन्द्र काफ्लेले शाब्दिक स्वागत गर्दै विषादी व्यवसायी संघको गठनको औचित्य प्रष्ट्याएको सो समारोहमा नेपालकै सबैभन्दा पहिलो कृषि सामग्री व्यवसायी संघका अध्यक्ष उमाप्रसाद सिटौला, नेपाल विउ जिवन व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष पदम बुढाथोकी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
१७ सदस्यीय नेतृत्व चयन
अधिवेशनले तीन वर्षे कार्यकालका लागि कमल बरालको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व चयन गरेको छ । अग्रज ब्यवसायी केशवप्रसाद पोखरेलको संयोजकत्वमा युवराज काफ्ले र श्याम खतिवडा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरेको हो ।
प्रथम अधिवेशनले विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको वरिष्ठ उपााध्यक्षमा दमकका पुण्यप्रसाद भट्टराई, उपाध्यक्षमा विज्ञान ढकाल बिर्तामोड, सचिवमा राजेन्द्र काफ्ले बिर्तामोड र कोषाध्यक्षमा सन्दिप खतिवडा बिर्तामोडलाई जिम्मेवारी दिएको छ ।
सदस्यहरुमा पुष्पा भण्डारी (मेचीनगर), निर्मला घिमिरे बाँस्तोला (गौरादह), गंगा खतिवडा (दमक), बिक्की रजाक (भद्रपुर) र प्रेम भट्टराई (बुद्धशान्ति) रहेका छन् ।
कार्यसमितिमा १२ जना सदस्यहरु चुनिएका हुन् ।
यसरी चुनिएका सदस्यहरुमा जाकिर हुसेन मियाँ (राजगढ), बिजय जबेगु (मेचीनगर), मन्दिप बराल (दमक), प्रमोद शाह (बोलोचोक, शिवसताक्षी), शोभाकान्त दास (गौरीगञ्ज), गौरब बजगाईं (शिवसताक्षी) र धिरेन बिष्ट (मेचीनगर) रहेका छन् ।
नवनिर्वाचित नेतृत्वलाई निर्वाचन समितिका संयोजक केशवप्रसाद पोखरेलले सपथग्रहण गराएका थिए भने विषादी ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष छोटेलालले झापाको कार्यसमिति देशभरकै उत्कृष्ट शाखा बन्ने अपेक्षासहित शुभकामना दिएका थिए ।
सो समारोहमा नवनिर्वाचित अध्यक्ष बरालले एक्लो प्रयासले केही पनि काम गर्न नसकिने भएकाले कार्यसमितिमा रहेका वा नरहेका सबै विषादी व्यवसायीको सामुहिक प्रयासले लक्ष्य हासिल गर्न सकिने भएकाले सबैबाट यथेष्ट सहयोग भएमा सफलता शासिल गर्ने विश्वास दिलाए ।















