झापा-असार मसान्तभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाविपरीत मुलुकभरका ४९ स्थानीय तहले लापरवाहीको हद देखाएका छन् । तोकिएको समयभित्र बजेट ल्याउन नसकेपछि ती स्थानीय तहमा बजेट होलिडे सुरु भएको छ ।
बजेट होलिडे सुरु भएका ती स्थानीय तहले साउन १ गतेदेखि कुनै पनि शीर्षकमा खर्च गर्न मिल्दैन । बजेट पारित नगरी खर्च गर्न नमिल्ने व्यवस्था छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको सभामा बजेट पेश हुनुपर्छ । बजेटमाथिको दफाबार छलफल पछि असार मसान्तभित्र सभाले बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।
अर्को आर्थिक वर्ष सुरु भइसक्दा पनि ३६ गाउँपालिकाको बजेट अझै आउन सकेको छैन । १३ वटा नगरपालिकामा पनि बजेट पारित हुन सकेको छैन । कतिपय स्थानीय तहमा बजेटकै विषयमा विवाद छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार ४२९ वटाले असार १० मा बजेट पेश गरेका थिए । बाँकी गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।
कोशी प्रदेशमा सुनसरीको धरान उपमहानगरपालिका, उदयपुरको कटारी नगरपालिका र तेह्रथुमको म्याग्लुङ नगरपालिकाले बजेट पारित गर्न सकेका छैनन् ।