काठमाडौँ-जनता समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै आगामी कार्ययोजना तय गर्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार साउन २७ २८ २९ र ३० गतेका लागि बैठक बोलाइएको हो । बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक सैद्धान्तिक अवधारणाका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय राजनीतिको वर्तमान परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका र परराष्ट्र नीति लगायतका सम्बन्धमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने बस्नेतले बताए ।
गत जेठ अन्तिम साता जसपाको महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको सपथ लिनेछन् ।


















