बिर्तामोड-प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा भविष्य छैन भन्नु निराधार भएको बताएका छन् ।
नारी सञ्चार गृह झापाको संयोजनमा काउन्सिल आफैंले आयोजना गरेको दुई दिने तालिमको समापनका अवसरमा अध्यक्ष बस्नेतले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तालिममा झापा, मोरङ, सुनसरी र इलामका गरी ४० जना पत्रकारको सहभागिता रहेको थियो । सहभागीलाई पत्रकारितामा नयाँ प्रविधि र मिडियामा सामाजिक सञ्जालको प्रभाव, युट्युब पत्रकारिता लगायतका विषयमा तालिम दिइएको छ ।
तालिम समापनमा बोल्दै अध्यक्ष बस्नेतले आफूलाई अब्बल बनाउन सके पत्रकारितामा अझै पनि भविष्य राम्रो रहेको स्पष्ट पारे ।
प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले पत्रकार आचारसंहिताविपरीत सञ्चार माध्यममा लैङ्गिक हिंसा हुने खालका समाचार सामग्री प्रकाशन प्रसारण भइरहेको जनाउँदै त्यस्ता सञ्चार माध्यमलाई कारबाही गरिएको बताए ।
नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले महिला पत्रकारको अवस्था, पत्रकारितामा उनीहरूले भोगेका चुनौती र अवसरका विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।
नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदनले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै अक्षय कोषमा ४५ लाख भन्दा बढी संकलन भएको बताइन् ।