बिर्तामोड- दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका लागि १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको क्लवका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ । मंसिर २९ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ ।
झापा ११ फुटबल क्लवले स्थापनापछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लवले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।
प्रतियोगितामा एक विभागीय, ए डिभिजन, मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।
झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङ बताउँछन् । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।