बिर्तामाेड– उपभोक्ता जागरण अभियान नेपालकाे तेस्रो वार्षिक साधारण सभा झापाको बिर्तामोडमा आयाेजना गरिएको छ । साधारण सभाकाे कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले उद्घाटन गरेका छन् ।
साधारण सभामा बिर्तामोड नगर उप प्रमुख नगेन्द्र संग्राैला र मेचीनगर उप प्रमुखकाे विशेष आतिथ्य रहेको छ ।
साधारण सभा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ काे अध्यक्षतामा भएको हाे । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सुशासनको अभावमा उपभोक्ता मारमा परिरहेको बताए ।
‘जागरुक उपभोक्ता जिम्मेवार बिक्रेता’ भन्ने मान्यतालाई अभियानका रुपमा अगाडि बढाइएको अध्यक्ष भण्डारीले बताए । उपभाेक्ता जागरणका लागि विद्यालयमा सचेतना कक्षा सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा मन्त्री कार्कीले पारी (भारत) तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टाँस्ने गरेको पाइएको बताए । ‘अखाद्य वस्तुको प्रयोगले विरामीको संख्या बढ्न थालेको छ’, मन्त्री कार्कीले भने, ‘भारतको जुनसुकै ठाउँमा नेपाल पठाउने तरकारीमा वन्ली फर सेल नेपाल लेखिएको हुन्छ ।’
विषादी भएको वस्तु चाहिँ नेपालीलाई पठाउने गरिएको भन्दै मन्त्री कार्कीले उपभोक्ता सचेत हुन ढिलो भइसकेको बताए । झापामा पनि काँचो केरा, लट्टेको सागमा समेत उच्च मात्रामा विषादी पाइएको भन्दै मन्त्री कार्कीले जनस्वास्थ्यमा खेलवाड गर्नेमाथि कार्वाही गर्ने चेतावनी दिए ।
उपभोक्तावादी संघ–संस्थाले निरन्तर खबरदारी गर्नु पर्ने र स्थानीय सरकारले अनुगमनलाई तीव्र बनाएर अखाद्य वस्तु भेटे तत्काल कारवाही गर्नुको विकल्प नहुने उनको जोड थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले डाक्टरले मात्र विरामीलाई इन्जेक्सन लगाउने गरेको भए पनि अहिले तरकारीमा पनि इन्जेक्सन लगाउन थालिएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले भारत वा काहिँबाट पनि विषादी भएको वस्तु कसैले ल्याएमा नाम गोप्य राख्ने गरी सूचना दिन जनतालाई आग्रह गरेका छन् ।
त्यस्तो सूचना पाए कानून अनुसार जरिवाना गरिने उनको भनाई छ । उनले खाद्य तथा नाप तौल कार्यालय बिर्तामोडमा नभएकोले तत्काल राख्ने व्यवस्था मिलाइदिन मन्त्री कार्कीसँग माग गरेका छन् ।
कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सल्लाहकार केदार कोइराला, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ, उपभोक्ता मञ्च झापाका अध्यक्ष वेदप्रकाश अग्रवाल, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमप्रसाद विमली लगायतले विषादीयुक्त वस्तु किनबेच र प्रयोगमा सबै सजग हुनु पर्नेमा जोड दिएका छन् ।
उपभोक्ता अदालत गठन गर्नुपर्छ : मार्सेली
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले उपभोक्ता अदालत गठन गर्न समेत माग गरेका छन् । जनप्रतिनिधिप्रति लक्षित गर्दै अध्यक्ष मार्सेलीले भने, ‘हाम्रो काम भुक्ने हो । तपाईँहरु टोक्नुहोस् । दिनभरि–रातभरि हामी भुक्ने । तर, तपाईंहरु सुतिदिनु भयो भने समस्या हुन्छ । अहिलेसम्म भएको यथार्थ त्यही हो ।’
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष सुशीलाकुमारी दवाडी सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सचिव विशाल थापाले गरेका छन् ।


















