चितवन-मेची महाकाली राष्ट्रिय उद्धार यात्राले बुधबार चितवन र वरपरका जिल्लाबाट १२ जना सडक आश्रित नागरिकको उद्धार गरेको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको अग्रसरतामा उनीहरूको उद्धार भएको हो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चितवन र नवलपरासीका विभिन्न ठाउँबाट दुई बालिकासहित १२ जनाको उद्धार गरिएको बताए । उनीहरूलाई मानवसेवा आश्रम चितवन सेवा केन्द्रमा संरक्षणका लागि राखिएको छ ।
असोज २८ गतेदेखि झापाको काँकडभिट्टाबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु भएको थियो । यात्राका क्रममा ९८ जना सडक आश्रित नागरिकको उद्धार गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।


















