बिर्तामोड-राष्ट्रिय युवा सङ्घ झापा जिल्ला कमिटीले शनिबार झापाको बिर्तामोड-७ स्थित निचा झोडा सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ । पूर्व घोषित कार्यक्रम अनुसार युवा सङ्घले वृक्षारोपण कार्यक्रम गरेको हो ।
सामुदायिक वन परिसरमा रहेको सहिद नेत्र पार्कमा युवा सङ्घका नेता कार्यकर्ताले वृक्षारोपण गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राजवंशीको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम भएको हो ।
वृक्षारोपण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत युवा सङ्घका नेता कार्यकर्ताको आतिथ्य रहेको थियो ।
एक महिने वृक्षारोपण अभियान अन्तर्गत बिर्तामोडको पर्यटकीयस्थल नेत्रपार्कमा विभिन्न जातका २०० भन्दाबढी बिरुवा रोपिएको युवा सङ्घका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज राज आङदम्वेले बताए ।
नेत्र पार्कमा आँप, लिची, कटहर, अम्बक लगायतका विभिन्न जातका बिरुवा रोपिएका छन् । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ भन्ने नारासहित युवा सङ्घले एक युवा पाँच बिरुवा अभियान सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बिरुवा रोपिएका हुन् ।














