बिर्तामोड-कोशी प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले विधिको शासनको पक्षमा आफू सधैँ उभिएको बताएका छन् । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीजको मान्यता समाज रूपान्तरणका लागि महत्वपूर्ण हुने मन्त्री कार्कीले बताएका हुन् ।
झापाको बिर्तामोडमा आयोजित वीरता लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन समारोहमा बोल्दै मन्त्री कार्कीले लेडी जेसीजको अग्रसरतामा एकपछि अर्को सामाजिक अभियानका महत्त्वपूर्ण कामहरू भएको बताए । मन्त्री कार्कीले यसलाई निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले लेडी जेसीजको भवन पुनर्निर्माणमा समेत प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने बताउँदै इस्टमेट तयार गरेर आउन अनुरोध गरेका छन् । समाजमा लागूपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको जनाउँदै मन्त्री कार्कीले त्यसविरुद्ध अभियान सञ्चालनका लागि पनि लेडी जेसीजका तर्फबाट प्रस्ताव आए सहयोग गर्ने बताए ।
विभिन्न सातवटा कार्यक्रम आयोजना गरी जेसीज सप्ताह मनाइएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । उनका अनुसार सप्ताहको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले गरेका थिए ।
लागूऔषध विरुद्धको सचेतना कार्यक्रमसँगै सप्ताह सुरु भएको थियो । लगत्तै ट्राफिक सचेतना, वित्तीय साक्षरता, संसदीय बैठक सञ्चालन प्रणाली सम्बन्धी अभिमुखीकरण, सहयोग हस्तान्तरण लगायतका कार्यक्रमसँगै सप्ताह समापन भएको छ ।