काठमाडौँ- विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रसाईंलाई साइबर ब्युरोमा लगिएको छ ।
‘साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो,’ उनले भने, ‘अहिले पक्राउ परेका व्यक्तिलाई भक्तपुर प्रहरीले साइबर ब्युरोमा छोडिदिएको छ।’
प्रसाईं पक्राउ परेसँगै पक्राउ पूर्जी जारी भएका युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ । असोज २ गते प्रसाईविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।














