शिवसताक्षी-पूर्वपश्चिम राजमार्गबाट पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वारमा दुई मुखे गेट स्थापना गरिएको छ । गेटको सोमबार नगर प्रमुख मेगाहाङ थोप्राले उद्घाटन गरेका छन् ।
नगर प्रमुख थोप्रासहित उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले रिबन काटेर संयुक्त रूपमा गेटको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले दोमुखाको पर्यटकीय विकासका लागि नगरपालिकाले चासो लिएको बताए । उनका अनुसार अघिल्लो वर्ष दोमुखासम्म जाने सडक कालोपत्रे गरिएको थियो ।
चालु आर्थिक वर्षमा गेट र दोमुखादेखि पिकनिक स्पोर्ट हुँदै स्विमिङ पुलसम्म जाने ७३० मिटर सडकमा इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।
नवनिर्मित गेटको माथि पशुपतिनाथ, स्वयम्भू र जनजातिहरूको सिलाम साक्माको आकृति राखिने नगर प्रमुख थोप्राले बताए । गेटमा चाइनिज इँटा र माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरिएको छ ।
पर्यटकीय क्षेत्र दोमुखाको विकासका लागि चालु आर्थिक वर्षमा १ करोड लगानी गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । ८४ लाख ६१ हजारको लागतमा गेट र सडक निर्माण गरिएको हो ।