झापा-अघिल्लो वर्षको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ को तुलनामा ६.४ प्रतिशत भन्दाबढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटक आगमन सन्तोषजनक रहेको बताए ।
वर्षाका कारण पर्यटक आगमन प्रभावित भएपनि अबको दुई महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या उच्च हुने निर्देशक लामिछानेको अनुमान छ । मौसममा सुधार आएकाले थप पर्यटक भित्रिने आशा गरिएको हो ।
पर्यटन बोर्डका अनुसार पछिल्लो तीन महिनामा भारतबाट आउने पर्यटक घटेका छन् । चिनियाँ पर्यटकको सङ्ख्यामा पनि कमी आएको जनाइएको छ। मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान छ ।