काँकडभिट्टा-भारतबाट पैदल आउँदै गरेका दुई नेपाली युवा मलद्वारमा लुकाइएको ब्राउन सुगरसहित पूर्वी नाका काँकडभिट्टाबाट सोमबार अलग-अलग समयमा पक्राउ परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका ३ घर भएका २३ वर्षीय रोजन राजवंशी र धनुषाको मिथिला नगरपालिका ९ घर भएका २८ वर्षीय श्याम बहादुर लोप्चनलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र बिष्टले बताए ।
प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा दुवै युवाका साथमा ब्राउन सुगर भेटिएको हो । राजवंशीका साथमा एक ग्राम ५६० मिलिग्राम र लोप्चनको साथमा ३५ ग्राम ब्राउन सुगर भेटिएको प्रनाउ बिष्टले जानकारी दिए ।
पक्राउ परेका दुवै युवालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगाइएको छ ।














