बिर्तामोड-नारी सञ्चार गृह झापाले मङ्गलबार १३ औँ स्थापना दिवस मनाएको छ । तीज मिलन कार्यक्रमसहित गृहले स्थापना दिवस मनाएको हो ।
नारी सञ्चार गृहका संस्थापकहरुको आतिथ्यमा आयोजित कार्यक्रममा झापाका अग्रज पत्रकारहरू सुब्रत न्यौपाने र राजेन्द्र गौतम, अधिवक्ता कोपिला बस्नेत लगायतले शुभकामना दिएका छन् ।
सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहसचिव ज्योत्सना श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । प्रतिवेदन अनुसार नारी सञ्चार गृहले पेशागत दक्षता अभिवृद्धि लगायतका विभिन्न सामाजिक कार्यमा आफूलाई समर्पित गरेको छ ।
कार्यक्रममा बोल्दै नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदनले आफ्नै कार्यकालमा कोषको रकम ५० लाख पुर्याउने लक्ष्य राखिएको बताइन् । उनका अनुसार अहिलेसम्म कोषमा ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
संस्थापक अध्यक्ष सावित्रा दाहाल पत्रकार महिलाहरूको व्यावसायिक सीप तथा क्षमताको विकास गर्दै उनीहरूलाई पेशामा टिकाइ राख्न नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँछिन् ।


















