१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

सांसदहरूले गरे यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहका विषयमा छलफल



बिर्तामोड-कोशी प्रदेश सरकारको न्याय प्रशासन तथा विधायन समितिले यातायात व्यवस्था कार्यालय झापाको सेवा प्रवाहका विषयमा छलफल गरेको छ ।

समितिकी सभापति कमला दर्नालको नेतृत्वमा आएको सांसदहरूको टोलीले यातायात व्यवस्था कार्यालयसँग सेवा प्रवाहका विषयमा छलफल गरेको हो ।

अनुगमनका लागि आएको समितिलाई यातायात कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले सेवा प्रवाहको पछिल्लो अवस्थाबारे अवगत गराएका छन् ।

कार्यालय प्रमुख सापकोटाका अनुसार अनलाइनको सर्भर पटक-पटक अवरुद्ध हुँदा सेवाग्राहीले निरन्तर दुःख पाउने गरेको बताए ।

सापकोटाले पुरानै सवारी ऐनबाट काम चलाउनुपर्ने भएकाले अनेकौं कठिनाइ र चुनौतीको सामना गर्नु परिरहेको जनाउँदै यसमा प्रदेश सरकारले विशेष चासो राख्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले संघीय सवारी ऐनले प्रदेशलाई नचिन्दा समस्या उत्पन्न भइरहेको जनाउँदै सांसदहरूको ध्यानाकर्षण गराए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले बीमाको रकम वृद्धि गर्नुपर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकसँग लिने गरेको जरिवानाको दर पनि बढाउनुपर्ने प्रस्ताव राखे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले सवारी नियमको पालना गर्न गराउन ट्राफिक प्रहरीले निरन्तर चेकजाँच, सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।

पूर्वपश्चिम राजमार्गमा अटो र सिटी सफारीको सङ्ख्या अत्याधिक भएको विषयमा समेत सरोकारवालाले सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

मुख्य राजमार्गभन्दा बाहिर मात्र सञ्चालन अनुमति प्रदान गरिए पनि राजमार्गमा अटो र सिटी सफारीको चाप देखिएको छ ।

समितिका सदस्य शमशेर राईले ड्राइभिङ सेन्टरमा महँगो शुल्क बुझाएर सिक्नुपर्ने सर्वसाधारणको बाध्यताका विषयमा समेत के भएको हो भनी यातायात कार्यालयसँग जिज्ञासा राखेका छन् ।

झापाको बिर्तामोड २ मा रहेको ट्रायल सेन्टरलाई अन्यत्र सारेर निजी क्षेत्रलाई पोस्ने काम भएकोप्रति समेत सांसदहरूको असन्तुष्टि छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार ००:००  ८ : ४२ बजे