सतासीधाम-कमल खोलाले धार परिवर्तन गरेर पारावारी पश्चिम कटान सुरु गरेपछि शिवसताक्षी नगरपालिकाले अल्पकालीन रूपमा तटबन्ध गरेको छ । नगरपालिकाले बोरा र बाँसको पाइलिङ लगाएर तटबन्ध निर्माण गरेको हाे ।
सय मिटर क्षेत्रमा पाइलिङ गरी खोलाको धार पुरानै ठाउँमा फर्काइएको नगरपालिकाले जनाएको छ । असार पहिलो साता परेको वर्षाका कारण खोलाले धार परिवर्तन गर्दा ५० बिघा धानखेत बगरमा परिणत भएको थियो ।
पानीको वहाव कम भएकाले बाँसको पाइलिङ लगाएर कटान रोकथाम गरिएको नगर प्रमुख मेगाहाङ थोप्राले बताए । पानीको वहाव बढ्न सक्ने खतरालाई ध्यानमा राखेर बाँसको पाइलिङसँगै बोरामा बालुवा भरेर समेत लगाइएको छ ।
उक्त क्षेत्रमा तटबन्ध गर्न ठूलो बजेट आवश्यकता पर्ने नगर प्रमुख थोप्रा बताउँछन् । उनले नगरको आन्तरिक स्रोतबाट अल्पकालीन व्यवस्था मात्रै गर्न सकिने बताए ।
नगरका इन्जिनियर कृष्ण राईका अनुसार बोरा र पाइलिङको सपोर्टका लागि बालुवा थुपारेर कृत्रिम किनार बनाइएको छ । उक्त किनार १२ फिट चौडा रहेको छ ।
नगरपालिकाले उक्त पाइलिङ तटबन्धकाे काम विपत् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँको लागतमा गरेको हो ।


















