१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

धरानमा खानेपानी महसुल विवाद : तत्कालका लागि आन्दोलन स्थगित



धरान-खानेपानीको महसुल वृद्धिको विषयमा भइरहेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । आइतबार भएको वार्तामा पुरानै महसुल कायम गर्ने सहमतिपछि तत्कालका लागि आन्दोलन रोकिएको हो ।

धरान खानेपानी बोर्ड र स्थानीयबीच देखिएको विवाद तत्कालका लागि समाधान भए पनि अन्तिम टुङ्गो लाग्न अझै बाँकी छ । बोर्डको अध्यक्षका हिसाबले नगर प्रमुख हर्कराज साङपाङले एकलौटी रुपमा खानेपानीको महसुल वृद्धि गरेका थिए ।

नगर प्रमुखको महसुल वृद्धिको निर्णयविरुद्ध धरानका १० दल आन्दोलित भएपछि निर्णय विवादमा परेको थियो । दलहरू तीन सातादेखि चरणबद्ध आन्दोलनमा थिए ।

बोर्डको बैठक नबसी नगर प्रमुखले एकलौटी रुपमा महसुल बढाएको खुलेपछि आन्दोलनमा स्थानीयको समेत सहभागिता बढ्दै गएको थियो । आइतबार भएको छ घण्टा लामो वार्तापछि पुरानै महसुल कायम गर्ने सहमति भएको हो ।

वार्तामा वृद्धि गरिएको महसुल तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला स्वीकार गर्ने र खानेपानी बोर्डको आय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने सहमति भएको छ ।

धरान उपमहानगरपालिका कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता र राजनीतिक दलका कार्यकर्ताले वार्ता टोलीलाई थुन्ने चेतावनी दिएपछि तत्कालका लागि सहमति जुटेको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  ९ : ५९ बजे