इलाम– नेपाली चिया निर्यातमा भारतले नयाँ प्रावधानमार्फत अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीले आइतबारदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको भन्दै उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको जनाएको हो ।
भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
जटिल गुणस्तर परीक्षण प्रक्रिया, परीक्षण नतिजामा हुने ढिलाइ तथा भण्डारण सुविधाको अभावका कारण ठूलो परिमाणमा तयारी चिया थन्किएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा रहेको छ । तीमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय बजारमा पुगिसकेपछि पनि विभिन्न परीक्षण प्रक्रियाका नाममा भारतीय गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया थन्किएको छ ।
उद्योगीहरूले भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएका नमुनाको प्रतिवेदन महिनौँसम्म उपलब्ध नगराउने, गुणस्तरमा समस्या देखिए चिया भारतीय गोदाममै नष्ट गर्नुपर्ने लगायतका प्रावधान लागू गरेको आरोप लगाएका छन् ।
निर्यात प्रभावित भएपछि उद्योगहरूले किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानीसमेत गर्न नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।
‘हालको परिस्थितिमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसैकारण असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।’
उद्योग बन्द हुँदा चिया किसान, श्रमिक तथा व्यवसायीहरूमा पर्न जाने असरप्रति क्षमा माग्दै एसोसिएसनले समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।
















