२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान



शिवसताक्षी– शिवसताक्षी नगरपालिका–६ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीलाई सम्मान गरेको छ ।

वडाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर गरेको हो ।

सम्मानित हुनेमा ४.०० जिपिएसहित उत्तीर्ण भएका भानु माध्यमिक विद्यालय पाराबारीका मञ्जिल नेपाल र भानु माध्यमिक विद्यालय लालझोडाका कञ्चन काफ्ले रहेका छन् ।

त्यसैगरी रेडरोज एकेडेमीका आभाष तिम्सिना र भानु माध्यमिक विद्यालय लालझोडाकी सर्वदा बोहोराले ३.९६, भगवती माध्यमिक विद्यालयका सार्थकबाबु दाहालले ३.९५ तथा चेतना माध्यमिक विद्यालयकी कृषा चेङवाङ र धरमपुर प्रज्ञा पाठशालाकी निर्जना बस्नेतले ३.९२ जिपिए प्राप्त गरेका छन् ।

यस्तै चेतना माध्यमिक विद्यालयका दीक्षित दुलाल र गरिमा दुलालले ३.९१ तथा भगवती माध्यमिक विद्यालयकी प्रेसिका खनालले पनि ३.९१ जिपिए हासिल गरेकाले सम्मानित भएका हुन्। कार्यक्रममा वडा बाल सञ्जालका वडा नं. ३ का अध्यक्ष पवन दाहाललाई समेत सम्मान गरिएको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्की र वडा सदस्य गोमा रिजालले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले विद्यार्थीको सफलता मेहनत, लगनशीलता र अनुशासनको प्रतिफल भएको बताउनुभयो। उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको मनोबल उच्च बनाउन र थप प्रोत्साहन प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा रहेर योगदान दिन विद्यार्थीलाई आग्रह गर्दै शिक्षित र ऊर्जाशील जनशक्तिको देशका विभिन्न क्षेत्रमा आवश्यकता रहेको उल्लेख गर्नुभयो । ठूलो अपेक्षा राखेर विदेशिने प्रवृत्ति बढ्दै जानु सकारात्मक संकेत नभएको उहाँको भनाइ थियो ।

सम्मानित विद्यार्थीका तर्फबाट बोल्दै मञ्जिल नेपालले उत्कृष्ट नतिजा हासिल गर्न अनावश्यक दबाबभन्दा रुचि र आत्मअनुशासन महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले विद्यार्थीलाई उत्कृष्ट जिपिए ल्याएपछि विज्ञान विषय नै पढ्नुपर्छ भन्ने धारणा गलत रहेको उल्लेख गर्दै आफूले चाहेको विषय रोजेर अध्ययन गर्दा मात्र सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा भानु माध्यमिक विद्यालय लालझोडाका प्रधानाध्यापक डामकुमार कुँवर, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश दाहाललगायत शिक्षक तथा विद्यालय प्रमुखहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन वडासचिव सन्तोष रिमालले गर्नुभएको थियो।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ००:००  ६ : २९ बजे