काठमाडौं-आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल गरिएको आरोपपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थप दबाबमा परेका छन् । संसद्मा पेस भएको विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको विधेयकबीच पृष्ठसंख्या र करसम्बन्धी व्यवस्थामै फरक देखिएपछि विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले आफूविरुद्ध उठाइएको संसदीय छानबिनको मागको प्रतिवाद गर्दै ‘जथाभावी संसदीय छानबिनको माग गरेर संसद्को गरिमा घटाउन नहुने’ बताएका छन् ।
‘जथाभावी संसदीय छानबिन ! के संसद् त्यति सस्तो भयो ?’ उनले भने, ‘छानबिन भनेको कुनै आरोप, प्रमाण, उजुरी वा कैफियत देखिएपछि गरिने विषय हो ।’ उनले करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी आरोप पुष्टि हुने आधार नभएको दाबी गर्दै आफूले कुनै गैरकानुनी काम नगरेको बताएका छन् ।
तर, विवादको केन्द्रमा आर्थिक विधेयककै दुई फरक संस्करण छन् । अर्थमन्त्री वाग्लेले जेठ १५ गते संसद्मा पेस गरेको आर्थिक विधेयक ४६४ पृष्ठको रहेको थियो । त्यसपछि अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको संस्करण भने ४४८ पृष्ठको भेटिएको छ । अर्थात् १६ पृष्ठ हटाइएको देखिएको छ ।
विपक्षी दलहरूको आरोप छ, संसद्मा दर्ता भइसकेको विधेयक संसद्को सम्पत्ति हुने भएकाले त्यसमा संसद्को स्वीकृतिबिना संशोधन वा फेरबदल गर्न पाइँदैन । तर, मन्त्रालयले आफैंले विधेयकको सामग्री परिवर्तन गरी नयाँ संस्करण सार्वजनिक गरेको देखिएको छ ।
यसै विषयलाई लिएर नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको छ । एमालेका सांसदहरूले ‘१६ पृष्ठ गायब हुनु सामान्य प्राविधिक त्रुटि नभई गम्भीर विषय’ भएको बताएका छन् । राप्रपा तथा अन्य विपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
विवाद केवल पृष्ठसंख्यामा सीमित छैन । विपक्षी दलहरूले करका केही दर तथा भन्सारसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको दाबी गरेका छन् । यदि संसद्मा पेस भएको र पछि सार्वजनिक गरिएको विधेयकमा करका दर फरक रहेको पुष्टि भए त्यसले कानुनी र नैतिक दुवै प्रश्न उठाउने जानकारहरूको भनाइ छ ।
अहिलेसम्म अर्थ मन्त्रालयले १६ पृष्ठ किन हटाइयो, कुन–कुन व्यवस्था परिवर्तन गरियो र त्यो परिवर्तन कसको निर्णयमा गरिएको हो भन्नेबारे विस्तृत सार्वजनिक स्पष्टीकरण दिएको छैन । यही कारणले संसद्, राजनीतिक वृत्त र आर्थिक क्षेत्रमा यो विषय थप चासो र विवादको केन्द्र बनेको छ ।
















