बिर्तामोड– बिर्तामोड नगरपालिकाको आयोजनामा ‘बिर्तामोड रोजगार मेला’ शनिबारदेखि बिर्तामोडस्थित अतिथिसदनमा सुरु भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संयुक्तरूपमा रिबन काटेर मेलाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं. २ का अध्यक्ष किशोर पौडेलसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
रोजगारदाताहरू र रोजगारीको खोजीमा रहेका युवाबिच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा विभिन्न क्षेत्रका रोजगारदाता संस्थाका स्टल राखिएका छन्। मेलामा सुरक्षा, बीमा, प्राविधिक शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा सेवा क्षेत्रसँग सम्बन्धित संस्थाहरू सहभागी भएका छन् ।
मेलामा रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षसमेत सञ्चालनमा छन् । आयोजकका अनुसार मेलामार्फत रोजगारदाताले आवश्यक जनशक्ति छनोट गर्न र रोजगार खोजिरहेका व्यक्तिले उपलब्ध अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
मेलाको अवसरमा उद्योगी-व्यवसायी र सरोकारवालाबीच रोजगार, सीप विकास तथा श्रम बजारका विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ । मेलाको व्यवस्थापन तथा सञ्चालनमा बिर्तामोड उद्योग वाणिज्य संघले सहकार्य गरेको नगरपालिकाले जनाएको छ ।
















