शिवसताक्षी– झापाको शिवसताक्षीमा दुई दिवशीय एकिकृत जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकूल सम्वन्धी तालिम सम्पन्न भएको छ । हेल्पिङ हेन्डसको आयोजनामा झिलझिले स्थित वाटरकिङ्गडम पार्कमा उक्त तालिम सम्पन्न भएको हो ।
तालिममा समुदायमा आधारित कार्ययोजना निर्माण, जलवायु परिवर्तनका कारण र प्रभाव, यसले मानव जीवन तथा प्राकृतिक प्रणालीमा पार्ने असर, वातावरण संरक्षण तथा दिगो विकासबीचको अन्तरसम्बन्ध लगायतका विषयमा कार्यशाला सञ्चालन गरिएको हेल्पिङ हेन्ड्सका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य होम थापाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण हरेक वर्ष विभिन्न क्षेत्रमा नयाँ-नयाँ संकट उत्पन्न भइरहेको उल्लेख गर्दै मानव समुदायले कल्पना नै नगरेका विपत्तिहरूको सामना गर्न बाध्य भइरहेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता नवीन दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसमीय प्रणालीमा व्यापक परिवर्तन देखिन थालेको बताउनुभयो ।
उहाँका अनुसार असामान्य वर्षा, हावाहुरी तथा अत्यधिक वर्षाजस्ता घटनाहरू बढ्दो क्रममा रहेका छन्, जसले जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ ।
यस्ता चुनौतीहरूको सामना गर्न विपद् व्यवस्थापन प्रणालीलाई अझ सुदृढ र तयारी अवस्थामा राख्न आवश्यक रहेको उहाँले जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूको तर्फबाट शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई तथा माई नगरपालिकाकी शिक्षा अधिकृत सीतादेवी लावतीले तालिमले विपद् जोखिम न्यूनीकरण तथा समुदायस्तरको तयारीका विषयमा महत्वपूर्ण सिकाइ प्रदान गरेको धारणा व्यक्त गर्नुभयो ।
तालिमको सहजीकरण बासुदेव काफ्ले र नवीन दाहालले गर्नुभएको थियो।तालिममा कोशी प्रदेशका २२ पालिका विपद व्यवस्थापनसँग सम्बन्धित कर्मचारी र जनप्रतिनिधिहरुले सहभागिता रहेको थियो ।
कार्यक्रममा एचएचआरडी नेपालका प्रोग्राम म्यानेजर जीनप्रसाद पोख्रेल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन हेल्पिङ हेन्ड्सका उपाध्यक्ष केशव भण्डारीले गर्नुभएको थियो।

















