११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस : झापामा दुई अलग-अलग कार्यक्रम



झापा-स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस बुधबार मनाइँदैछ । नेपाली सांगीतिक क्षेत्रका महान व्यक्तित्वका रूपमा नारायण गोपाललाई चिनिन्छ ।

अध्येता प्रकाश सायमी ३० वर्षको गायन यात्रामा नारायण गोपालले १३७ गीत गाएको बताउँछन् । १९९६ असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालका गीत कालजयी छन् ।

दार्जीलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायण गोपालको समूहले थुप्रै गीत गाएका छन् । उनीहरूको एउटा छुट्टै समूह थियो ।

थापाको गीत योञ्जनको संगीतमा नारायण गोपालले गाएका हुन् । २०४७ मङ्सिर १९ गते नारायण गोपालको निधन भएको थियो ।

संगीत प्रेमी विभिन्न क्षेत्रका सङ्घसंस्थाले नारायण गोपाल स्मृति दिवस मनाउँदै आएका छन् । झापामा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नारायण गोपाल स्मृति प्रतिष्ठानको आयोजनामा झापाको बिर्तामोडमा नारायण गोपाल साँझ आयोजना हुँदैछ । बुधबार साँझ ५ बजे विराट ज्योति स्कुलमा कार्यक्रम आयोजना हुन लागेको प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीले बताए ।

साहित्य चौतारी झापाले पनि नारायण गोपाल स्मृति दिवस मनाउँदैछ । मासिक सांगीतिक काव्य सभाको कार्यक्रमसहित साहित्य चौतारीले स्मृति दिवस मनाउन लागेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ००:००  ७ : ५८ बजे