बिर्तामोड– बिर्तामोड नगरपालिकाले पशु चौपायामा खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्यलाई तीव्रता दिएको छ ।
गाई, भैंसीमा लाग्ने सरुवा रोग नियन्त्रणका लागि नगरपालिकाले खोरेत विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गरिरहेको हो ।
खोरेतको सङ्क्रमणबाट हुनसक्ने क्षतिलाई कम गर्न सबै वडामा निःशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य भइरहेको पशुपंक्षी तथा मत्स्य विकास शाखाले जनाएको छ ।
शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले बिर्तामोडका १३ हजारभन्दा बढी पशु चौपायामा खाेरेत विरुद्धको खोप लगाउने लक्ष्य राखिएको बताउनुभयो ।
वडा नम्बर ६ र ७ मा खोरेत विरुद्धको खोप अभियान सकिएको छ । ती दुई वडाका करिब ३ हजार पशु चौपायामा खोप लगाइएको डाक्टर खड्काले बताउनुभयो ।
खोरेत विरुद्धको खोप अभियान सञ्चालन गर्न चार जना प्राविधिक परिचालित भएका छन् ।
नगरपालिकाले कृषकको सुविधाका लागि विभिन्न खोप निशुल्क उपलब्ध गराउँदै आएको छ ।