काँकडभिट्टा-नेपाली कांग्रेसका युवा नेताको अग्रसरतामा पूर्वी नेपालको काँकडभिट्टाबाट शुक्रबारदेखि युवा संकल्प यात्रा प्रारम्भ भएको छ । भ्रष्टाचार, वेथिति र महंगीविरुद्ध कांग्रेसका युवा नेताहरूले मेची महाकाली युवा सङ्कल्प यात्रा सुरु गरेका हुन् ।
युवा सङ्कल्प यात्रामा नेपाल तरुण दलका पूर्व महामन्त्री भूपेन्द्रजंग शाहीको नेतृत्वमा कांग्रेसका ५० भन्दा बढी युवा सहभागी छन् । संकल्प यात्रालाई झापाको काँकडभिट्टामा सम्बोधन गर्दै शाहीले एउटा युवा हुनुको नाताले सरकारलाई खबरदारी गर्ने गरी संकल्प यात्रा प्रारम्भ गरिएको बताए ।
युवाका लागि स्वदेशमा रोजगारीको व्यवस्था, सुशासन र राजनीतिक स्थायित्व, महङ्गी नियन्त्रण र सहकारी पीडितका लागि न्यायको अपेक्षा राखेर सङ्कल्प यात्रा प्रारम्भ गरिएको युवा नेता शाहीले जानकारी दिए ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले युवाहरुले सुरु गरेको मेची महाकाली संकल्प यात्राले देशभर सकारात्मक नयाँ आशाको सञ्चार गर्ने बताउँदै लोकतन्त्र बचाउन खबरदारीको खाँचो औँल्याए ।
विभिन्न ठाउँमा जनस्तरमा अन्तरक्रिया गर्दै मङ्सिर ५ गते पश्चिम नेपालको महेन्द्रनगरमा पुगेर युवा सङ्कल्प यात्रा समापन हुनेछ ।