६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बिर्तामोडमा शौचालय बनाउन एक करोड बजेट, नगरपालिकाले बनायो जग्गा खोज्न समिति



बिर्तामोड– बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ ।नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको बैठकले जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा गठित समितिमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य छन् ।

आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरी प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको नगर प्रमुख प्रसाईले बताइन् ।बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु गम्भीर विषय रहेको बताउँदै उनले अब प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

नगरका प्रवक्ता समेत रहेका समितिका संयोजक पाण्डेले सरकारी अथवा कुनै दाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताए । उनले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्ने गरी अघि बढ्ने बताए ।

नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार ००:००  २ : १७ बजे