बिर्तामोड– बिर्तामोड नगरपालिकाले बिहीवार बाख्राको खोर अनुगमन गरेको छ । नगरपालिकाको टोलीले वडा नम्बर ६ मा निर्माण गरिएको बाख्राको खोरको अनुगमन गरेको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा नगर प्रमुख प्रसाईले खोरलाई अझै व्यवस्थित बनाउन निर्देशन दिएकी छन् ।
बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि कृषक समूहलाई सहयोग गर्दै आएको छ । खोर निर्माणका लागि कृषक समूहले ३५ हजार रुपैयाँ पाउँदै आएका छन् ।
नगरपालिकाले प्रति कृषक समूह ४५ वटाका दरले बाख्रा, बीउ बोका, बाख्राको वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमा समेत सहयोग गर्दै आएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ यता ६ सय ७५ वटा बाख्रा, १५ वटा बोयर जातका बोका वितरण गर्नुका साथै २२५ वटा खोर निर्माण गरेको छ ।
खोर अनुगमनमा नगर प्रमुखसँगै पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सव इञ्जिनियर दीपेश निरौला र स्थानीय समाजसेवी तथा सन्देश बंगुरपालन समूहकी अध्यक्ष आइतमाया शेर्माको सहभागिता रहेको थियो ।


















