काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जिल्ला तहमा केन्द्रीय सदस्यहरूलाई खटाउने तयारी गरेको छ । कार्यकर्तालाई पार्टी काममा निरन्तर सक्रिय गराइ राख्न कांग्रेसले यस्तो अभियान थाल्न लागेको हो ।
पार्टीलाई सुदृढ, गतिशील र प्रभावकारी बनाउने गरी नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर जिल्ला जिल्लामा पठाउन लागेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । ‘केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर खटाउने विषयमा छलफल भएको छ’, प्रवक्ता महतले भने ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले चार महिनाको समय दिएर केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने निर्णय गरेको हाे । बैठकमा सहभागी नेताहरूले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन २३ गते बस्ने केन्द्रीय समितिको बैठकले यस विषयमा थप निर्णय गर्नेछ । कुन केन्द्रीय सदस्यलाई कुन जिल्लामा पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ ।
सोमबार बसेको बैठकमा केन्द्रीय समितिको बैठकका लागि पेश गर्ने प्रस्तावका बारेमा समेत छलफल भएको मुख्य सचिव पौडेलले जानकारी दिए । कांग्रेसमा अहिले १३ पदाधिकारी सहित १६८ सदस्य कार्यसमिति छ ।
यसअघि नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको बैठकबाट महासमितिको प्रस्तावलाई पारित गर्ने भनेको थियो । महासमितिका प्रस्तावलाई पूर्णता दिने र प्राप्त सुझावलाई समेट्ने काम भइरहेको छ ।
प्रवक्ता महतका अनुसार सङ्घीय र प्रदेश सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ । सहभागी नेताहरुले पार्टी सत्तामा रहेका बेला संगठन कमजोर हुन नहुने सुझाव दिएका छन् ।














