बिर्तामोड-बिर्तामोड आँखा अस्पतालमा आइतबारदेखि दाँतको सेवा सुरु भएको छ । आँखा अस्पतालले त्रिपक्षीय व्यावसायिक साझेदारीमा आफ्नै भवनमा दन्त चिकित्सा सेवा प्रारम्भ गरेको हो ।
आँखा जाँचका लागि आएका बिरामीलाई लक्षित गरी दन्त चिकित्सा सेवा प्रारम्भ गरिएको अस्पतालका डाक्टर विनोद दाहालले बताए । उनका अनुसार आँखा वा दाँतका दुवै बिरामीले अस्पतालबाट सेवा लिन सक्नेछन् ।
दन्त चिकित्सा सेवा उपलब्ध गराउने विषयमा बिर्तामोड आँखा अस्पताल, नेशनल एडभान्स डेन्टल केयर र एडभान्स प्याथोलोजी व्यवसायी साझेदारका रुपमा उभिएका छन् । दन्त सेवाका लागि नेशनल एडभान्सले अग्रसरता लिनेछ ।

१८ वर्षदेखि दन्त चिकित्साको क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको नेशनल एडभान्स डेन्टल केयरले राजधानी काठमाडौँ बाहिर पहिलोपटक बिर्ता आँखा अस्पतालसँग व्यावसायिक सहकार्य गरेको डाक्टर समिर अर्यालले बताए ।
अत्याधुनिक उपकरणको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको दन्त चिकित्सा सेवा बिर्तामोडमै सुरु भएको डाक्टर ज्योति अर्याल बताउँछिन् । प्राकृतिक दाँतको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर उपचार दिइने डाक्टर अर्यालले बताइन् ।
‘सेवाग्राहीलाई उचित परामर्श र आवश्यक सूचना दिएर मात्रै उपचार प्रारम्भ गर्ने हाम्रो नीति छ’, सेवा शुभारम्भका अवसरमा डाक्टर अर्यालले भनिन्, ‘हामी बिरामीको सुविधा र सुरक्षामा प्रतिबद्ध छौ ।’
सरकारका पूर्व अर्थ सचिव तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, पूर्व राष्ट्रपति डा रामवरण यादवका आर्थिक सल्लाहकार शम्भुशरणप्रसाद कायस्थले रिवन काटेर दन्त चिकित्सा सेवा शुभारम्भ गरेका हुन् ।
डाक्टर सीमा सिन्हा आँखा उपचारका लागि आउने बिरामीको माग र आवश्यकतालाई ध्यानमा राखेर दन्त चिकित्सा सेवा सुरु गरिएको र आगामी दिनमा कानको उपचार सेवा पनि उपलब्ध गराउने लक्ष्य राखिएको बताउँछिन् ।