११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

खुदुनाबारी गोल्डकप : बिर्तामोड नगरको बिजयी सुरुवात



अर्जुनधारा- बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा सोमवार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो ।

बिर्तामोडका लागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो ।

खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी पुरस्कार पाए ।

उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सीताराम भट्टराई र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गरेका छन् ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरु भएको गोल्डकप अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो ।

प्रतियोगिता अन्तरगत मंगलवार हुने दोस्रो खेलमा आयोजकसँग भद्रपुर नगरपालिकाको टीमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले बताए ।

प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टीमसहित आयोजकको एक टीम गरेर १० टीमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ८ : ११ बजे