१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

नेपाल खेलकुद महासङ्घको बैठक : विभाग गठन र कार्यदिशा अनुमोदन



काठमाडौं– नेपाल खेलकुद महासङ्घको नवनिर्वाचित नेतृत्वको पहिलो केन्द्रीय पदाधिकारी बैठकले संगठनको भावी कार्यदिशा सर्वसम्मत रूपमा अनुमोदन गर्दै विभिन्न विभाग गठन गरेको छ ।

हालै सम्पन्न राष्ट्रिय भेलाबाट अध्यक्षमा निर्वाचित दीपेन्द्रप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार, खेलाडीको क्षमता अभिवृद्धि, स्थानीयदेखि राष्ट्रिय तहसम्म खेलकुद गतिविधि विस्तार तथा खेलकुदसम्बद्ध संघसंस्थासँग समन्वयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

बैठकले प्रचार, कार्यालय, आर्थिक, महिला तथा विदेश विभाग गठन गर्दै जिम्मेवारीसमेत बाँडफाँट गरेको छ ।प्रचार विभाग प्रमुखमा विष्णु पुन, कार्यालय विभाग प्रमुखमा रामगोपाल घिमिरे, आर्थिक विभाग प्रमुखमा जेनेन्द्र वीर शाही र महिला विभाग प्रमुखमा नन्दा बराल चयन भएका छन् ।

बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य विशाल भट्टराई र विशेष अतिथि महासङ्घका इन्चार्ज दीपक कार्की सहभागी थिए । उनीहरूले खेलकुदलाई स्वस्थ समाज निर्माणको आधारका रूपमा स्थापित गर्न महासङ्घले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष दाहालले महासङ्घलाई राष्ट्रियस्तरमा सक्रिय, जिम्मेवार र परिणाममुखी संगठनका रूपमा विकास गर्दै देशव्यापी संगठन विस्तार अभियानलाई तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  ७ : ४५ बजे