१९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026

बिर्तामोडमा असोजमा राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता



बिर्तामोड-झापाको बिर्तामोडमा तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ आयोजना हुने भएको छ । बडी ग्यारेजको आयोजनामा प्रतियोगिता असोज २० र २१ गते बिर्तामोडमा हुनेछ ।

यसअघि प्रदेशस्तरमा हुँदै आएको प्रतियोगिता यसपटक पहिलोपटक राष्ट्रियस्तरमा विस्तार गरिएको आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले बताए। आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ भने खुला प्रतिस्पर्धा राखिएको छ । देशभरबाट करिब दुई सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको बडी गयारेजका सञ्चालक राम दाहालले जानकारी दिए ।

प्रतियोगिताको मुख्य आकर्षण पुरस्कार राशि हो । समग्र विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमशः ३ लाख, २ लाख, १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव हिमाल खरेलले बताए ।

महिलातर्फको प्रतियोगिता कोशी प्रदेशमै पहिलोपटक समावेश गरिएको आयोजकको दाबी छ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पुरुषतर्फ प्रत्येक तौल समूहका दोस्रो हुने खेलाडीलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ दिइनेछ । अन्य खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराईले शारीरिक सुगठनन लगायतका खेलमा राज्यले पनि सहयोग गर्नु पर्ने बताए ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि २०८२ भदौ २७ र २८ गते प्रतियोगिता गर्ने तयारी भए पनि जेन्जी आन्दोलनका कारण अन्तिम तयारी पूरा भइसकेपछि प्रतियोगिता स्थगित भएको थियो ।

दोस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ उपाधि डिएनपी फिटनेस, गाईघाटका ६५ केजी तौल समूहका खेलाडी दिलीपकुमार चौधरीले जितेका थिए । यसपटक राष्ट्रियस्तरमा विस्तार गरिएसँगै प्रतियोगितालाई पूर्वी नेपालमा शारीरिक सुगठन खेलको ठूलो मञ्चका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार ००:००  १२ : ५३ बजे