५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

स्वास्थ्य बीमाको दायरालाई पाँच लाख पुर्‍याउने स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव



काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको विद्यमान दायरा फराकिलो बनाउन प्रस्ताव गरेका छन् । आइतबार आफ्नो मन्त्रालयको प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो प्रस्ताव गरेका हुन् ।

स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गृहकार्य भइरहेको मन्त्री पाैडेलले बताए । अहिले पाँच जना सम्मको परिवारले एक लाख रुपैयाँ सम्मको सुविधा प्राप्त गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी स्वास्थ्य संस्थाहरूको पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने तयारी भइरहेको बताए ।

मन्त्री पौडेलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्य दक्षताको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्य सुविधाको पुनरावलोकन गरी त्यसको कार्यान्वयन गर्ने व्यवस्था गर्न लागिएको पनि जानकारी दिए ।

स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमा समेट्ने तयारी पनि सरकारले गरेको मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।

सबै राष्ट्रिय खेलाडीहरूको वार्षिकरुपमा निःशुल्क स्वास्थ्य परीक्षणका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा व्यवस्था मिलाइएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  ९ : ४४ बजे