काठमाडौँ-परराष्ट्रमन्त्री डा. आरजु राणा सोमबार साँझ क्यानडा प्रस्थान गरेकी छन् । महिला परराष्ट्र मन्त्रीहरूको बैठकमा सहभागी हुन राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सेप्टेम्बर १९ र २० मा क्यानडाको टोरेन्टोमा महिला परराष्ट्र मन्त्रीहरूको बैठक हुँदैछ । क्यानडा प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीले बिदाई गरेका छन् ।
बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ । बैठकमा परराष्ट्रमन्त्री डा. राणाले शासनसत्ता लगायतका सार्वजनिक पदमा महिलाको उपस्थिति र चुनौतीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्ने छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधि मण्डलका तर्फबाट डा. राणा सहभागी हुने कार्यक्रम छ ।
अमेरिकाको कार्यक्रम सकेपछि परराष्ट्रमन्त्री राणा कतारको दोहा प्रस्थान गर्ने जनाइएको छ । दोहामा आगामी अक्टोबर २ र ३ मा एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलन हुँदैछ ।