झापा-सरकारले दूध र उखुकाे बक्यौता रकम किसानलाई भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ । दशैँ अगावै किसानलाई भुक्तानी दिने प्रतिबद्धता अनुसार सरकारले प्रक्रिया सुरु गरेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई दूध र उखुबापत झन्डै दुई अर्ब रुपैयाँ भुक्तानी गर्न लागिएको बताए । उनका अनुसार किसानलाई जिल्ला जिल्लामा रकम पठाइसकिएको छ ।
उखु खेती हुने तराईका आठ जिल्लाका किसानले झन्डै १ अर्ब ४५ करोड रुपैयाँ पाउन बाँकी छ । सरकारले दुग्ध किसानको रकम भुक्तानी गर्न सर्तसहित दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो ।
दुग्ध विकास संस्थानका प्रमुख सूर्य पाण्डेले दशैँ अगाडि नै सबै किसानले बक्यौता रकम भुक्तानी पाउने जनाएका छन् । किसानले १ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।